परिचय
सुनसरी जिल्ला कोशी प्रदेशमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यो जिल्ला प्रदेशकै ऐतिहासिक गौरव बोकेको धार्मिक, शैक्षिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला मानिन्छ। यहाँ मेडिकल, इन्जिनियरिङ, फुड टेक्नोलोजी लगायतका विषयहरूमा गुणस्तरीय अध्ययन–अध्यापन हुने शैक्षिक संस्थाहरू पनि रहेका छन्। जिल्लाको अधिकांश भूभाग तराईमा पर्ने भएकाले यहाँका बासिन्दाको मुख्य पेशा कृषि हो र करिब ७० प्रतिशत मानिसहरू कृषि कार्यमा संलग्न छन्। यहाँ धान, गहुँ, दलहन, तेलहनका साथै उखु, जुट र सुर्ती पनि प्रमुख रूपमा उत्पादन हुन्छन्।
यस जिल्लाको क्षेत्रफल १२५७ वर्ग किलोमिटर रहेको छ। दक्षिणी भाग समुद्र सतहबाट करिब १५२ मिटर र उत्तरी भाग करिब ९१४ मिटर उचाइमा रहेको छ। जिल्लामा पक्की सडक करिब १९६ कि.मी., ग्राभेल सडक ३९९ कि.मी. र कच्ची सडक ६५७.५ कि.मी. रहेको छ। यहाँ राई, लिम्बू, बाहुन, क्षेत्री, नेवार, थारू, यादव, मेहता, सतार र मुस्लिम समुदायहरूको बसोबास पाइन्छ। मानव विकास सूचकाङ्कमा यो जिल्ला १६ औं स्थानमा रहेको छ।